शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
काठमाडाैं | कात्तिक १, २०८१
खोटाङ: यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण गराउनुभयो ।
जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो ।
सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर नै रिजर्भ गर्नुप¥यो । कमजोर आर्थिक अवस्था भएका मृतकका आफन्तले चन्दा सङ्कलन गरी रु ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याए ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरु दसैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनुपरेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ ।
स्थानीय तहले करोडौँ मूल्यका सवारीसाधन खरिद गरे पनि शव वाहन खरिद गरेका छैनन् । जसले गर्दा शव परीक्षण गर्नुपर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ ।
शव परीक्षण गराउँदासमेत कार्यालय सहयोगीले रु दुई हजार मागेर लगेको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दो रहेछ ।”
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् ।
ती सबैका परिवारले ट्याक्टरमै महङ्गो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

